logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीमा ५ पालिकाका प्रमुखबीच समन्वय बैठक, सामाजिक सद्भाव कायम राख्न अपिल


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीमा सोमबार जिल्लाका विभिन्न ५ पालिकाका प्रमुखको उपस्थितिमा पालिका समन्वय बैठक बसेको छ ।

लालबन्दी नगरपालिकाको पहलमा लालबन्दीसहित हरिवन र हरिपुर नगरपालिका तथा ब्रम्हपुरी र चन्द्रनगर गाउँपालिकाका प्रमुखबीच समन्वय बैठक बसेको हो । बैठकले सदरमुकाम मलंगवामा केही दिनदेखि सामाजिक सद्भाव बिर्गान गरेको प्रयास निन्दनिय र अराजकताको पराकाष्ट भएको निष्कर्ष निकाल्दै शान्तिप्रेमि आम जनसमुदायलाई आ–आफ्नो स्थानबाट सामाजिक सद्भाव कायम राख्न अपिल गरिएको छ । बैठकपछि लालबन्दीका नगरप्रमुख बासुदेव अधिकारी, हरिवनका नगरप्रमुख रमेश बुढाथोकी (कमल), हरिपुरका नगरप्रमुख गोपाल पन्जियार, ब्रम्हपुरीका अध्यक्ष रामपदारथ साह र चन्द्रनगरका अध्यक्ष राजकुमार महतोले संयुक्त अपिल जारी गरेका हुन् ।

पालिका समन्वय बैठकमा भूमि व्यवस्थापन, कृषि उपज र पशु विकास क्षेत्र, त्रिभुवनगर–लालबन्दी–मरिण–दुम्जा सडक÷पर्यटन क्षेत्र सडक सन्जाल, सुनकोशी–मरिण–बागमती डाईभर्सन, उपमहानगरपालिका प्रस्ताव, रंगशाला निर्माण, फोहोर व्यवस्थापन, सर्पदंश उपचार केन्द्र संचालनलगायत विषयमा समेत छलफल भएको छ ।

यि विषयमा पाँचवटै पालिकाबीच समन्वय गरेर अगाडि बढ्ने निर्णय भएको लालबन्दी नगरपालिकाको नगरप्रमुखका स्वकिय सचिव भानुभक्त बरालले जानकारी दिए ।