मलंगवा – संविधान दिवसको अवसरमा बुधबार बिहान सर्लाही सदरमुकाम मलंगवामा प्रभातफेरि निकालिएको छ ।

संविधान दिवस आयोजक मूल समारोह समितिको आयोजनामा मलंगवा बजारमा प्रभातफेरि गरिएको हो । सोही अवसरमा शहीदहरु प्रति सम्मानसहित फूलमाला अर्पण र झण्डोत्तोलन गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जीतेन्द्रकुमार महतो, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, अन्य सुरक्षा अधिकारी, कार्यालय प्रमुख, नागरिक समाज, गैर–सरकारी संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थीलगायत सहभागी भएका छन् ।

दिवसकै अवसरमा मंगलबार साँझ मलंगवामै दीप प्रज्वलन र बजार क्षेत्रमा सरसफाई गरिएको थियो । यस्तै, संविधानको स्वागत गर्दै बुधबार बेलुका पनि विभिन्न कार्यालय, बजार र ग्रामीण भेगमा दीप प्रज्वलनको तयारी भइरहेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।