मलंगवा – संविधान दिवसको पूर्वसन्ध्यामा मंगलबार बिहान सदरमुकाम मलंगवामा सरसफाई गरिएको छ ।
असोज २, ३ र ४ गते तीन दिनसम्म भव्यताका साथ संविधान दिवस मनाउने निर्णय भएअनुसार मंगलबार पहिलो दिन मलंगवाको जिविस चोकदेखि नगरपालिका चोकसम्मको सडक सरसफाई गरिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित अन्य कार्यालय, कर्मचारी मिलन केन्द्र, सामाजिक संघसंस्था, नागरिक समाज, नगरपालिका कार्यालयलगायत निकायसँग समन्वय गरी सरसफाई गरेको हो ।

मलंगवा निवासी नागरिक समाजका जिल्ला सचिव शिवचन्द्र चौधरीले विभिन्न पर्व तथा दिवस र अन्य अवसरमा सदरमुकाममा हुने यस प्रकारको सरसफाई, रक्तदानलगायत अन्य सामाजिक काममा स्थानीय वासिन्दाको उपस्थिति न्यून हुने गरेको बताए । मलंगवा नगरवासीमा जागरुकताको कमी सारै दुःखद् पक्ष रहेको चौधरीको भनाई छ । उनले बाहिरबाट आएका सुरक्षा अधिकारी, कर्मचारी र यहाँका आफूहरु २/४ जना मात्रै यस्तो अभियानमा सहभागी हुने गरेको बताए ।
सदरमुकाम मलंगवामा पछिल्लो समय कर्मचारी मिलन केन्द्रका संयोजक तथा नापी कार्यालयका प्रमुख सञ्जय मानन्धरको नेतृत्वमा मोहर सिंह धर्मशालाको नियमित सरसफाईदेखि अन्य सामूहिक सचेतनामूलक कार्य बाक्लै मात्रामा हुन थालेका छन् ।
यस्तै, संविधान दिवसको मुख्य दिन बुधबार सदरमुकाम मलङ्गवामै प्रभातफेरि, झण्डोत्तोलनलगायतको कार्यक्रम आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयले जनायो ।