सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
चन्द्रनगर – प्रहरीले सर्लाहीको चन्द्रनगर गाउँपालिका–६, कामदबाट ठूलो मात्रामा अवैध कपडासहित एउटा भारतीय गाडी नियन्त्रणमा लिएको छ ।
भारततर्फबाट भन्सार छली गरी ल्याइएको करिव १३ लाख रुपैयाँ बराबरको कपडासहित शनिबार साँझ बीआर ०६ पीए १५२५ नम्वरको स्करपियो प्रहरीले नियन्त्रणमा लिएको हो । बरामद गरिएको कपडा र नियन्त्रणमा लिइएको गाडी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय मलंगवामा बुझाउने तयारी भइरहेको डीएसपी दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।
उनका अनुसार गाडीका चालक भने प्रहरीलाई देख्नासाथ फरार भएका छन् । जिल्लामा अहिले दिनहुँजसो २/३ लाखको अवैध सामग्री बरामद भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सीमा क्षेत्रमा कडाई गरेपनि खुल्ला सीमा नाकाका कारण अवैध सामग्रीको तस्करी पूर्णरुपमा नियन्त्रण गर्न चूनौति रहेको सुरक्षा अधिकारीले बताएका छन् ।