गर्मी छल्न नहरमा पौडी खेल्दै गरेका बालबालिका । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – सर्लाहीमा आज बिहानैबाट टन्टलापुर घाम लागेर उखरमाउलो गर्मी छ ।
यस क्षेत्रमा बेलाबेलामा मौसम धाम्मधुम्म भइरहन्छ । तर, पानी पर्न नसकी टरेको छ । केही थोपा पानी छिट्याएर मात्रै टर्दा झन बढी हपक्क गर्मी भएको हो ।
भदौ महिना सकिन अब २ दिन मात्रै बाँकी छ । असोज लाग्नै लाग्दा समेत गर्मी भने घट्न सकेको छैन् । रातको समयमा पनि गुम्म गर्मी हुने गरेको स्थानीयले बताएका छन् ।
यहाँको धान बालीलाई अहिले पानी चाहिएको छ । मौसम धाम्मधुम्म भएपनि पानी नपरी टरिरहँदा किसान भने निराश बनेका छन् । मोटर चल्ने, कुलो तथा नहरको पानी लाग्ने क्षेत्रका किसानले पानी पटाइरहे पनि आकाशे वर्षाको भर पर्नुपर्ने क्षेत्रमा तत्काल पानी नपरे धान बाली प्रभावित हुने देखिन्छ ।
कतै धान पसाउन थालिसकेको छ भने कतै अब केही साताभित्रै पसाउने बेला हुन लागेको किसानले बताएका छन् । यो बेला किसानले एक÷दुई झर पर्याप्त वर्षाको प्रतिक्षा गरेका छन् । यो वर्ष बर्खायामभर ठूलो पानी पर्नै सकेन । तलसम्म बगेर जाने खोलामा माथितिरै पानी छैन् ।
चुरेभेगमै बाँध थुनेर कुलो तथा नहरमा पानी लाँदा समेत त्यहीँका किसानलाई अपुग रहेको हाम्रा संवाददाताहरुले जनाएका छन् । यही गर्मीमा धेरै मानिसमा ज्वरो, टाइफाइड, रुघा, खोकी, टाउको दुख्ने, शरीर कमजोर भएको महसुस हुने, डेंगुजस्ता स्वास्थ्य समस्या बढिरहेका छन् ।