घनश्याम बलम्पाकी, उज्यालो अभियान-सर्लाहीको हरिवन नगरपालिका वडा नं. ३ डाबरीमा बुधबार पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको श्रद्धान्जली कार्यक्रम गरिएको छ ।
वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा वडाध्यक्ष दीपमान लोप्चन, समाजसेवी गंगा लामालगायतले मन्तव्य राख्दै सालिन स्वभाव र सादकी नेताको छवी बनाएका पूर्व सभामुख नेम्वाङको निधनले मुलुकलाई एउटा अभिभावक गुमाए सरह भएको बताए । उनीहरुले एउटा असल राजनेता गुमाउँदा अत्यन्त पीडा महसुस गरेको भन्दै दुःख व्यक्त गरे ।
कार्यक्रममा डाबरीका स्थानीय समेत सहभागी भएर स्वर्गिय नेम्वाङको तस्बिरमा माल्यार्पण गरेका छन् । बुधबार जिल्लाका अन्य स्थानमा नेकपा एमालेलगायतको आयोजनामा पूर्व सभामुख नेम्वाङप्रति श्रद्धान्जली व्यक्त गरिएको छ ।