हरिवन – चुनावका बेला उम्मेदवारले धेरै किसिमका प्रतिवद्धता व्यक्त गर्छन तर चुनावपछि ती प्रतिवद्धता विर्सने गरेको आम जनताले गुनासो गरेको जताततै सुन्न पाइन्छ ।
सर्लाहीको संसदीय क्षेत्र नम्बर ३ मा भने अलग अवस्था छ । सो क्षेत्रबाट गत संसदीय निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका नरेन्द्र साहले चुनाव हारे पनि आफूले गरेको प्रतिवद्धतालाई पुरा गर्दै गएका छन् ।
साहले चुनावका बेला घरदैलोमा जाँदा त्याहाँका जनताले सार्वजनिक ठाउँमा सफाइ गर्न घाँस तथा बुट्यान काट्दै गरेको देखे । गाउँलेसँगै सरसफाइमा उनी पनि जुटे । त्यही बेला उनले सार्वजनिक सडक, ग्रामिण सडक र बस्ती आसपास घाँस तथा बुट्याउनले बनाउने फोहोर सफा गर्न मेशिन उपलब्ध गराउने वाचा गरे ।
सोही वाचाअनुसार साहले हरिवन नगरपालिकालाई घाँस तथा बुट्यान काट्ने मेशिन हस्तान्तरण गरेका छन् । हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी ‘कमल’ लाई उनले तीन थान मेशिन हस्तान्तरण गरेका हुन् ।
मेयर बुढाथोकीले मेशिनको प्रयोगले नगरलाई स्वच्छ र सफा राख्न ठूलो मद्दत पुग्ने बताए । आफ्नो क्षेत्रमा पर्ने ५१ वटै वडामा सफाइका लागि यो मेशिनको व्यवस्था हुने साहले बताए ।