मलंगवा – सदरमुकाम मलंगवाको अवस्था सामान्य बन्दै गएको छ ।
शुक्रबार श्रीकृष्ण जन्माष्टमीको मूर्ति सेलाउनेक्रममा भएको विवाद बढ्दै गएपछि मलंगवा बजारक्षेत्र तनावग्रस्त बनेको थियो । सोमबार बिहानबाट भने मलंगवाको अवस्था सामान्यतर्फ उन्मुख भएको हो ।
आइतबार अपरान्ह सर्वपक्षिय ¥याली समेत निकालिएको थियो । त्यसपछि पनि राति केही समय असहजस्थिति सिर्जना भएपनि सोमबार बिहानबाट भने स्थिति सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालयले जनायो ।
सोमबारबाट बजारका पसल खुल्न थालेका छन् । यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् ।
शुक्रबार रातिदेखि आइतबार दिउँसोसम्म बारम्बार प्रदर्शन भई बजार बन्द हुँदा प्रभावित भएका स्थानीय आजबाट बजार पसलसँगै यातायात सञ्चालनमा आएपछि खुसी भएका छन् । सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले आजबाट प्रदर्शन रोकिएर अवस्था सामान्य बन्दै गएको जानकारी दिए ।
उनका अनुसार पुनः अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी निरन्तर तैनाथ भइरहेकै छन् । स्थानीय प्रशासन, पालिका, सामाजिक सङ्घसंस्थाले बारम्बार विज्ञप्ती जारी गरी संयमता अपनाउन सबैसँग आग्रह गरेका छन् ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भेला, प्रदर्शन, जुलुसलगायतका कार्यक्रम गर्न रोक लगाइ भदौ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी नै रहने बताए । प्रहरीले यसअघि प्रदर्शनका क्रममा ढुंगामुढा गर्दा पक्राउ परेका सबै व्यक्तिलाई आइतबार साँझ छाडिसकेको छ ।