सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी – सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ ।
जिल्लाका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । निरन्तर एक साता पानी परेर मौसममा परिवर्तन आएपछि जिल्लाभर नै भाइरल ज्वरोको सङ्क्रमण तीव्र रुपमा फैलिएको हो ।
सत्यलोक आयुर्वेदिक क्लिनिक नवलपुरका डाक्टर देवेन्द्रकुमार झाले हिजोआज उपचारका लागि आउने बिरामीमध्ये अधिकांश भाइरल भिबर (सरुवा ज्वरो) का बिरामी हुने गरेका बताए । त्यस्ता बिरामीमा घाँटी दुख्ने, कमजोरी महसुस हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखिने गरेको चिकित्सकले बताएका छन् ।
यहाँको उत्तरी भेगका लालबन्दी, नवलपुर, हरिवन, बागमतीलगायत स्थानका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक १० देखि १५ जनासम्म भाइरल ज्वरोको सङ्क्रमण भएका बिरामी उपचारका लागि पुग्ने गरेका छन् । अन्य ठाउँको तुलनामा पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपुर र हरिवनका निजी स्वास्थ्य संस्थामा बिरामीको चाप बढी देखिन्छ ।
प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले भाइरल भिबरको विवरण आउन बाँकी रहेको बताए । डाक्टर झाका अनुसार जिल्लाभर डेङ्गु सङ्क्रमित भने बढिरहेका छन् ।
स्वास्थ्य कार्यालय मलङ्गवाका अनुसार जिल्लाभर डेङ्गुका ६१ जना सङ्क्रमित छन् । चिकित्सकले डेङ्गु तथा भाइरल ज्वरोबाट बच्न घर वरपर लामखुट्टे बस्ने नपाउने गरी सरसफाई गर्न, सङ्क्रमित भएका व्यक्ति अन्य व्यक्तिसँग सम्पर्कमा नरही टाढै बसेर आराम गर्न, पोसिलो खानेकुरा प्रशस्त खान, चर्को घाम लागेको बेला सकेसम्म घरभित्रै बस्न र स्वास्थ्य सावधानीका अन्य उपाय अपनाउन आग्रह गरेका छन् ।