logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

रातदिन एकनासले हपक्क गर्मी हुँदा जनजीवन प्रभावित


  • उज्यालो अभियान

सर्लाहीको पर्सा गाउँपालिकास्थित पर्सा बजार ।

लालबन्दी – सर्लाहीमा केही सातादेखि रातदिन एकनासले हपक्क गर्मी हुँदा जनजीवन प्रभावित बनिरहेको छ ।

दिनभर टन्टलापुर घाम लागेर उखरमाउलो गर्मी खेपिरहेका यहाँका स्थानीयले राती समेत हपक्क गर्मी हुँदा राम्रोसँग निधाउन पाएका छैनन् । भदौको अन्तिम सातातिर आएर सर्लाहीसहित यस आसपासका जिल्लाका वासिन्दाले अत्यधिक गर्मी खेप्नु परेको हो ।

गर्मी धेरै रहेकाले हरेक मानिस असिनपसिन भएर दिन काट्न बाध्य छन् । यही गर्मीमा बेलाबेलामा बिजुली बत्ती कट्ने हुँदा स्थानीय थप छटपटीमा पर्ने गरेका छन् । गर्मीले गर्दा धेरैमा टाउको दुख्ने, शरीर कमजोर भएको महसुस हुने, ज्वरो, रुघाखोकीजस्ता गर्मीजन्य संक्रमण बढेको पाइन्छ ।

चिकित्सकले यस्तो समयमा पर्याप्त पानी पिउन, चर्को घाम लागेको बेला सकेसम्म घरमै बस्न, ताजा र तागतिला खानेकुरा खान र स्वास्थ्यको ख्याल गर्न सुझाव दिएका छन् ।

यस क्षेत्रमा केही दिनदेखि बेलाबेलामा मौसम धुम्म भएपनि पानी पर्न नसकी टरिरहेको छ । धान पसाउने बेला भएकाले आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रका किसान वर्षाको प्रतिक्षामा बसेका छन् ।

सिँचाई सुविधा नरहेको ठाउँका किसान आकाशे वर्षा तत्काल नभए मुखैमा आउन लागेको धान बाली प्रभावित हुने हो की भन्ने चिन्तामा परेका हाम्रा संवाददाताले जनाएका छन् ।