logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

एक वर्षमा तेत्तीस सय मुद्दा फछ्यौट


  • उज्यालो अभियान

मलंगवा – सर्लाही जिल्ला अदालतले गत आर्थिक वर्ष २०७९/०८० मा तीन हजार २८६ मुद्दा फछ्यौट गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार ३६० मुद्दा जिम्मेवारी सरेर आएको थियो भने आर्थिक वर्ष २०७९/०८० मा तीन हजार १७१ नयाँ मुद्दा दर्ता भए । जिम्मेवारी सरेर आएको र नयाँ दर्ता भएको समेत गरी पाँच हजार ५३१ मुद्दामध्ये गएको आर्थिक वर्षमा ५९ दशमलव ४१ प्रतिसत अर्थात् तीन हजार २८६ मुद्दाको किनारा लागेको हो ।

फछ्यौट हुन बाँकी दुई हजार २४५ मुद्दा चालू आर्थिक वर्ष २०८०/०८१ मा जिम्मेवारी सरेर आएको सर्लाही जिल्ला अदालतले जनाएको छ । जिम्मेवारी सरेर आएको अर्थात् गत आर्थिक वर्षमा फछ्यौट हुन बाँकी दुई हजार २४५ मुद्दामध्ये एक हजार १२७ मुद्दा छ महिनाभित्र दर्ता भएका, ४३७ मुद्दा छ महिनादेखि १२ भित्र दर्ता भएका, २९८ मुद्दा एक वर्षदेखि १८ महिनाभित्र दर्ता भएका, २२३ मुद्दा १८ महिनादेखि दुई वर्षभित्रका र १६० मुद्दा दुई वर्ष नाघिसकेका छन् ।

सर्लाही जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले देवानी प्रकृतिका लेनदेन, अङ्श, सम्वन्धविच्छेदलगायत मुद्दा तुलनात्मक रुपमा धेरै दर्ता हुने गरेको जानकारी दिए । उनका अनुसार अदालतमा अहिले छ जना न्यायाधीश कार्यरत छन् ।

कोही न्यायाधीश बिदामा बसेको समयबाहेक छवटै इजालाश नियमित चल्छ । श्रेस्तेदार अधिकारीले कार्यालयमा अधिकृतस्तरका कर्मचारीको भने अभाव हुँदा नियमित कार्य सम्पादनमा अप्ठेरो पर्दै आइरहेको बताए ।