मलंगवा – सदरमुकाम मलंगवामा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
शुक्रबार बेलुका कृष्ण जन्माअष्टमीको मूर्ति बिसर्जन गर्नेक्रममा शुक्रबार बेलुका दुई समुदायबीच झडप हुँदा मलंगवा बजार क्षेत्र अशान्त बनेपछि स्थानीय प्रशासनले बाक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ गरेको हो । मध्यरातबाट अवस्था सामान्य भएपनि शनिबार बिहानबाट फेरि टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा हुन थालेपछि सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालयले जनायो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित अप्रिय घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको उज्यालो अभियानसँग बताए । सीडीओ यादवका अनुसार जिल्ला प्रहरी प्रमुखसहितको टोली सुरक्षामा तैनाथ छ ।
गएराति झडप रोक्न प्रहरीले १६ शेल अश्रुग्याँस र एक राउण्ड हवाइ फायर गरेको थियो । आज फेरि प्रदर्शन चर्किएपछि प्रहरीले बेलाबेलामा अश्रुग्याँस प्रहार गरिरहेको स्थानीयले बताएका छन् ।
मलंगवास्थित नगरपालिका चोक, मुख्य बजार क्षेत्रसहित भित्री बस्ती र सडकहरुमा समेत प्रदर्शन र ढुंगामुढा भइरहेकाले त्यसलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेको एक जना संचारकर्मीले जानकारी दिए । गएरातिको तनावका कारण मलंगवा बजार आज ठप्प छ ।

सम्पूर्ण पसल, व्यवसाय बन्द छन भने प्रदर्शनकारीबाहेक अन्य मानिसको चहलपहल देखिँदैन । मलंगवा भएर चल्ने छोटो तथा लामो दुरीका यातायातका साधन संचालन हुन सकेका छैनन् ।
आज बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय/सर्वपक्षिय बैठकले धार्मिक, जातिय, साँँस्कृतिक सद्भाव कायम राख्न सबैसँग अपिल गरेको छ ।