मलंगवा – शुक्रबार साँझ केहीबेर अशान्त बनेको सर्लाही सदरमुकाम मलंगवाको अवस्था शनिबार भने सामान्य छ ।
कृष्ण जन्माअष्टमीको मूर्ति विर्सजन गरेर फर्किनेक्रममा साँझपख नगरपालिका चोक र त्यस आसपासमा दुई फरक समुदायबीच विवादको अवस्था सिर्जना भएको थियो । सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले आज मलंगवा बजारको अवस्था सामान्य रहेको जानकारी दिए । उनका अनुसार राति भीडलाई भगाउन र ढुंगामुढा रोक्न १६ शेल अश्रुग्याँस र १ राउण्ड हवाई फायर गरिएको छ ।
सामान्य झडपमा केही स्थानीय र त्यसलाई रोक्ने क्रममा केही सुरक्षाकर्मी घाइते भएका छन् । मलंगवा बजार क्षेत्रमा रातभर नै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।
स्थानीयका अनुसार मलंगवाका १० भन्दा बढी स्थानमा कृष्ण जन्माष्टमीको मूर्ति राखेर पूजा भएका थिए ।