मलंगवा – ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ सर्लाहीमा पनि शुक्रबार २० औँ निजामती सेवा दिवस मनाइएको छ ।

दिवसको अवसरमा जिल्ला सदरमुकाम मलंगवामा बिहान विविध कार्यक्रम गरिएका छन् । प्रभातफेरि, वृक्षरोपण, रक्तदान र सम्मान कार्यक्रमको आयोजना गरी दिवस मनाइएको कर्मचारी मिलन केन्द्र सर्लाहीका संयोजक सन्जय मानन्धरले जानकारी दिए ।
मलंगवा बजार परिक्रमा गर्दै प्रभातफेरि निकालेर जिल्ला प्रशासन कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । त्यसपश्चात रक्तदान र सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित अन्य सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख, कर्मचारी, सामाजिक संघसंस्थामा क्रियाशील व्यक्ति र स्थानीयले रक्तदान गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवका अनुसार ३४ पुरुष र १ महिला गरी ३५ जनाले रक्तदान गरेका छन् ।

कर्मचारी मिलन केन्द्रका संयोजक मानन्धरका अनुसार दिवसको मूल समारोहमा जिल्लाभित्र सेवा निवृत्त २२ जना निजामती कर्मचारीलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको छ । यस्तै, निजामती सेवा दिवस अन्तर्गत तय गरिएका विविध कार्यक्रम आयोजना गर्न सहयोग गर्ने लालबन्दी, हरिवन, ईश्वरपुर, ब्रम्हपुरीलगायतका पालिकासहित ७ वटा संघसंस्थालाई समेत सम्मान गरिएको छ ।

निजामती सेवा दिवस–२०८० अन्तर्गत यसअघि भदौ १८ गते लालबन्दीमा रक्तदान, सोही दिन जुटपानी वृद्धाश्रममा फलफूल वितरण र बिहीबार सदरमुकाम मलंगवामा निजामती कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरिएको थियो ।
