मलंगवा – नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ जिल्ला कमिटी सर्लाहीले व्यवसायीमैत्री नीति ल्याउन माग गरेको छ ।
महासंघले शुक्रबार प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाउँदै कोरोना महामारीको प्रभाव र चरम मन्दीका कारण व्यवसाय नचलेर लिएको ऋणको ब्याज, किस्ता तिर्न नसकिरहेको अवस्थामा बैंकहरुले अव्यहारिक र लुटेरा शैलीमा ब्याज बढाइरहेकोमा आपत्ति जनाइएको हो । महासंघका मधेश प्रदेश अध्यक्ष सरोजकुमार यादवसहित जिल्ला प्रशासन कार्यालय मलंगवा पुगेर सरकार अनि राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाइएको नेपाल उद्योग तथा व्यवसायी महासंघ सर्लाहीका इन्चार्ज राजु थापाले जानकारी दिए ।
नीजि क्षेत्रलाई अनविज्ञराखी ल्याइएका नीतिहरुले सिंगो मुलुकको अर्थतन्त्रमा थप समस्या परेको भन्दै सरोकारवाला पक्षसँग वार्ता र छलफलको माध्यमबाट समस्या समाधान गर्न महासंघले माग गरेको छ ।
ज्ञापन पत्र बुझाउन महासंघका प्रदेश अध्यक्ष यादव, जिल्ला इन्चार्ज थापासहित जिल्ला अध्यक्ष दिनेश उप्रेती, प्रदेश उपसचिव राजन थापा, जिल्ला उपाध्यक्ष अर्जुन खड्का, अर्का जिल्ला उपाध्यक्ष अच्यूतम ढुंगाना, जिल्ला सदस्य सन्जिव श्रीवास्तवलगायत मलंगवा पुगेका थिए ।