सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – शुक्रबार साँझपख केहीबेर अशान्त बनेको सर्लाही सदरमुकाम मलंगवाको स्थिति सामान्य बन्दै गएको छ ।
कृष्ण जन्माअष्टमीको मूर्ति विर्सजन गरेर फर्किनेक्रममा साँझपख नगरपालिका चोक र त्यस आसपासमा दुई फरक समुदायबीच विवादको अवस्था सिर्जना भएको थियो । सर्लाही प्रहरीका प्रमुख (एसपी) नरेशराज सुवेदीले अहिले भने स्थिति सामान्य भइसकेको उज्यालो अभियानसँग बताए । “हाम्रो उपस्थितिमै सुरक्षित तबरले मूर्ति बिर्सजन गरेर फर्किनेक्रममा भिड यताउता दौडिने क्रममा केही असहज स्थिति सिर्जना भएको हो तर अहिले अवस्था सामान्य नै छ,” राति ९ः५० बजेतिर उज्यालो अभियानसँगको कुराकानीमा एसपी सुवेदीले भने, “म आफै बजारमै छु, अहिले स्थिति सबै नर्मल छ ।”
प्रहरीका अनुसार भीडलाई भगाउन ४ शेल अश्रुग्याँस र सर्ट गनबाट एक राउण्ड हवाई फायर गरिएको छ । मलंगवा बजार क्षेत्रमा अहिले राति पनि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।
स्थानीयका अनुसार मलंगवाका १० भन्दा बढी स्थानमा कृष्ण जन्माष्टमीको मूर्ति राखेर पूजा भएका थिए ।