मलंगवामा निकालिएको प्रभातफेरि (तस्बीर : सुनिल ठाकुर)
मलंगवा – “सामाजिक न्याय र आर्थिक सशक्तिकरण : मानव बेचबिखन निर्मुलन” भन्ने मूल नारासहित सर्लाही सदरमुकाम मलंगवामा आज (वुधबार) बिहान प्रभातफेरि निकालिएको छ ।
१७ औँ राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवसका अवसरमा मलंगवा बजार परिक्रमा गर्दै प्रभातफेरि निकालिएको हो । जिल्लामा क्रियाशील सामाजिक सङ्घसंस्था र सुरक्षा निकायसँग समन्वय गरी प्रभातफेरि निकालिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनायो ।

अदालत अगाडि गरिएको कोणसभा । (तस्बीर : सुनिल ठाकुर)
जिल्ला समन्वय समितिको तीनबिघे मैदानबाट सुरु भएको प्रभातफेरि नगर परिक्रमा पश्चात सर्लाही जिल्ला अदालत अगाडि आएर कोण सभामा परिणत भयो । कोण सभालाई जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले सम्वोधन गर्दै मानव बेचबिखन र यससँग जोडिएका अन्य अपराध रोक्न सबैले समन्वय गरेर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक नरेशराज सुवेदी, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक सन्तोष ढुङ्गेल, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, महिला, बालबालिका, सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो ।