गर्मी छल्न नहरमा पौडी खेल्दै गरेका बालबालिका । (तस्बीर : उज्यालो अभियान)
हरिवन – बिहानैदेखि चर्को घाम लागेकाले सर्लाहीमा आज (बुधार) पनि उखरमाउलो गर्मी छ ।
जिल्लामा केही दिनदेखि गर्मी अत्यधिक भइरहँदा सर्वसाधारण प्रभावित बनिरहेका छन् । भदौको हपक्क गर्मीका कारण प्रत्येक व्यक्ति असिनपसिन हुने गरेका छन् । अत्यधिक गर्मीका कारण अधिकांशलाई टाउको दुख्ने, शरीर शिथिल हुनेजस्ता गर्मीजन्य संक्रमण बढेकाले पर्याप्त पानी पिउन, घाम लागेको समयमा सकेसम्म घरभित्रै बस्न र ताजा खानेकुरा मात्रै खान चिकित्सकको सुझाव छ । तर, दैनिक मजदुरीमा निस्कनुपर्ने मजदुर र किसानले गर्मी तथा घामको प्रवाह नगरी काम गरिरहेको देखिन्छ ।
गर्मी छल्नका लागि गाउँघरतिरका स्थानीय रुख तथा चौतारीको छहारीमा बस्ने गरेका छन् । बाक्लो बस्ती रहेको जिल्लाको मलंगवा, बरहथवा, बयलवासलगायत क्षेत्रमा अझ बढी गर्मी छ । पानी पर्न रोकिँदा यहाँको आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा धान बाली प्रभावित हुन थालेको किसानले बताएका छन् ।
आँश धान अब पसाउन थाल्ने भएकाले पानीको खाँचो रहेपनि टन्टलापुर घाम लागेर चर्को गर्मी हुँदा किसान निराश बन्न थालेका छन् । कुलो तथा नहरको पानी लाग्ने क्षेत्रका किसालने भने अहिलेसम्म जसोतसो पानी लगाइरहेका छन् । लगातार ठूलो पानी पर्न नसकेका कारण यो वर्ष जिल्लाको अधिकांश खोला भदौमै सुक्खा छन् ।
यसैबीच, बिहानैदेखि चर्को घाम लागेर अत्यधिक गर्मी भइरहेका बेला सर्लाहीको बरहथवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा अहिले बिजुली अवरुद्ध छ । वितरण केन्द्रको सवस्टेशनमा नयाँ ट्रान्सफर्मर जडान भइरहेकाले विद्युत् सूचारु हुन अझै कम्तीमा २ घण्टा लाग्ने वितरण केन्द्रले जनाएको छ ।