logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने माग राख्दै बचतकर्ताको धर्ना


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवास्थित सुविधा बचत तथा ऋण सहकारी संस्थामा बचत गरेको रकम फिर्ता पाउनु पर्ने माग राख्दै बचतकर्ता आन्दोलनमा उत्रेका छन् ।

उनीहरुले रकम अविलम्व पाउनु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका हुन् । मलंगवा नगरपालिका–८ स्थित सुविधा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईश्वर गुप्ता बचतकर्ताको रकम हिनामिना गरेर फरार भएपछि कार्यालयले बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन ।

रकम भुक्तान हुन नसकेपछि पीडितहरुले एक साताअघि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै रकम भुक्तान नभए आन्दोलन गर्ने घोषणा गरेका थिए ।

रकम नपाउनुको साथै कारबाहीको लागि पनि ठोस प्रयास नभएको भन्दै पीडितहरु संघर्ष समिति बनाएर जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका हुन् । अविलम्ब रकम फिर्ता पाउनु पर्ने, सञ्चालकलाई कारबाही तथा तथा सम्पत्ति रोक्का गर्नुपर्ने, कार्यालयको स्वतन्त्र लेखा परीक्षण हुनुपर्ने, सञ्चालकले लिएको ऋण सार्वजनिक हुनुपर्ने लगायतका माग राखिएको संघर्ष समितिले जनाएको छ ।

सहकारीका अध्यक्ष गुप्ताले बचतकर्ताको करिव २४ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ । सहकारीबाट ठूलो रकम हिनामिना गरेको आरोपमा सुविधाका प्रवन्धक दिपकलाल अमात्य, खजान्ची निर्मल श्रेष्ठ सहित अन्य दुई कर्मचारी उमेश अधिकारी र कामेश्वर सिंह थुनामा परेका छन् ।

फरार अध्यक्ष गुप्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।