बयलवास – सर्लाहीमा लामो समयपछि नेपाली कांग्रेसको दुई फरक समूहका नेता एउटै मञ्चमा देखिएका छन् ।
कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ ले आइतबार ईश्वरपुर नगरपालिका–६, बयलवासमा आयोजना गरेको क्षेत्रीय सम्मेलनमा कांग्रेस संस्थापन तथा संस्थापन इतर समूहका नेताहरु एउटै मञ्चमा देखिएका हुन् । सर्लाहीमा प्रायः संस्थापन पक्ष बलियो रहेको समितिले आयोजना गरेको कार्यक्रममा संस्थापन इतर पक्ष सहभागी नहुने र संस्थापन इतर पक्ष बलियो रहेको समितिले आयोजना गरेको कार्यक्रममा संस्थापन पक्षका नेता सहभागी हुँदैनन् ।
तर आइतबार संस्थापन इतर पक्षको दबदबा रहेको क्षेत्र नं. १ को कार्य समितिले आयोजना गरेको कार्यक्रममा संस्थापन इतर पक्षका नेताहरु पनि सहभागी भएका छन् । कार्यक्रममा संस्थापन पक्षका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह, प्रदेश सभा सदस्य जङ्गिलाल राय, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ लगायत सहभागी भइ मन्तव्य राखे ।
क्षेत्रीय सभापति हरिबहादुर लुङ्गेलीको अध्यक्षता तथा केन्द्रिय सह–महामन्त्री जीवन परियारको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संविधान सभाका सदस्य रामचन्द्र चौधरी, पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवार र लक्ष्मण राय, मधेश प्रदेशसभाका सदस्य कौशलकिशोर रायलगायतले मन्तव्य राखेका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस सहमहामन्त्री परियारले आइतबारको यो कार्यक्रमले कांग्रेस सर्लाहीमा एकताको सन्देश दिएको बताए ।
बयलवासस्थित फूलजोर मन्दिरको परिसरमा आयोजित कार्यक्रममा सहभागी कांग्रेसका एक नेताले आइतबारको यो कार्यक्रममा दुवै समूहका नेता सहभागी भएको देख्दा खुसी लागेको बताए । कांग्रेस पार्टी र पार्टीका कार्यक्रमलाई यसैगरी गुटरहीत बनाउँदै लैजानुपर्ने उनको भनाई छ ।