मलंगवा – गएको आर्थिक वर्ष २०७९÷०८० मा सर्लाही जिल्लाका लागि सङ्घीय सरकारबाट प्राप्त बजेटमध्ये पूँजीगततर्फ ८८.९९ प्रतिसत बजेट खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका अनुसार पूँजीगततर्फ सङ्घ सरकारबाट पालिका तथा अन्य निकाय र कार्यालयलाई प्राप्त पाँच अर्ब पाँच करोड ५६ लाख ८७ हजार रुपैयाँ बजेट प्राप्त भएकोमा चार अर्ब ४९ करोड ९० लाख ४२ हजार ७६५ रुपैयाँ ४८ पैसा अर्थात् ८८.९९ प्रतिसत बजेट खर्च भएको हो । असार महिनामा मात्रै एक अर्ब ३२ करोड ५६ लाख १५ हजार ७०१ रुपैयाँ ८५ पैसा खर्च भएको छ ।
५५ करोड ६६ लाख ४४ हजार २३४ रुपैयाँ ५२ पैसा बजेट भने खर्च नभई फिर्ता भएको छ । यस्तै, जिल्लामा चालु खर्चतर्फ ९४.६१ प्रतिसत बजेट खर्च भएको कोलेनिकाले जनाएको छ ।
चालु खर्चतर्फ जिल्लाका लागि प्राप्त १३ अर्ब ६४ करोड ८९ लाख ३२ हजार ९९१ रुपैयाँ बजेटमध्ये १२ अर्ब ९१ करोड ३४ लाख ८८ हजार ३७९ रुपैयाँ ०४ पैसा खर्च भएको छ । चालु खर्चतर्फ ७३ करोड ५४ लाख ४४ हजार ६११ रुपैयाँँ ९६ पैसा खर्च नभई फिर्ता भएको छ ।
चालुतर्फ पनि असार महिनामा मात्रै दुई अर्ब १२ करोड दुई लाख २६ हजार ८६१ रुपैयाँ ६१ पैसा खर्च हुन नसकेर फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक निर्मल न्यौपानेले राष्ट्रिय स्तरको तुलनामा सर्लाहीमा पुँजीगत तथा चालु खर्चतर्फको बजेट खर्चको प्रतिसत राम्रै रहेको जानकारी दिए ।