logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हजरियामा ईनारमा डुबेर वृद्धाको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

बरहथवा – सर्लाहीको हजरिया, खर्साल टोलस्थित सार्वजनिक इनारमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका–१ खर्साल टोलकी ६५ वर्षीया लक्षियादेवी सहनीको इनारमा डुबेर मृत्यु भएको हो । खेतमा पानी पटाउनका लागि खनिएको सार्वजनिक इनारमा डुबेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राति घरमा सुतेकी सहनी बिहान फेला नपरेपछि उनकी बुहारीले हल्लाखल्ला गरेकी थिइन् । स्थानीय र प्रहरीले खोजतलास गर्दैजाँदा टोलमै रहेको इनारनजिक महिलाको चप्पल र लाठी फेला परेको थियो ।

इनारमा गहिरो पानी जम्मा भएकाले दमकल लगाएर पानी निकाल्दा महिलाको शव इनारको फेदमा फेला परेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । महिलाको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

मृतक महिलाका श्रीमानको भने यसअघि नै मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।