logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

प्रहरी चौकी ब्रह्मपुरीको नयाँ भवन


  • उज्यालो अभियान

ब्रह्मपुरी – सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा बुधबार नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ ।

गाउँपालिकाले करिव ४५ लाख रुपैयाँ खर्चिएर निर्माण गरिदिएको प्रहरी चौकी ब्रह्मपुरीको नवनिर्मित भवनको मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) जनक भट्टराईले उद्घाटन गरेका हुन् । यसअघि आफ्नै भवन नहुँदा गाउँपालिकाले कार्यालय हाताभित्रै कोठा प्रदान गरेर प्रहरी चौकी राखेको थियो ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउतले वडा नं. १ स्थित ब्रह्मपुरी बजार नजिकै गाउँपालिकाले सम्पूर्ण बजेट बेहोरेर प्रहरी चौकी भवन निर्माण गरिदिएको जानकारी दिए । उनका अनुसार कार्यालय सञ्चालनका लागि आवश्यक फर्निचर समेत गाउँपालिकाबाटै प्रदान गरिएको छ ।

प्रहरी चौकी भवनको उद्घाटन गर्दै प्रदेश प्रहरी प्रमुख डीआइजी भट्टराईले आफ्नै फराकिलो भवनमा बस्न पाएको प्रहरीलाई अझ उच्च मनोबलका साथ नैतिक भई शान्ति सुरक्षामा ध्यान केन्द्रित गर्न निर्देशन दिए । प्रहरी चौकी भवन उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष रामपदारथ साह तेली, उपाध्यक्ष श्यामकला यादव, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, भैरवी दल गण पाँचकुमारीका प्रमुख सेनानी सूर्यबहादुर कार्की, प्रहरी उपरीक्षक नरेशराज सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

प्रहरी चौकी ब्रह्मपुरीमा प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा प्रहरी रहने गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।