हरिवन – नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य छाडेर एमालेमा फर्किएका नेता डिल्लीप्रसाद उप्रेतीको पद घटुवा भएको छ ।
एक महिनाअघि एकीकृत समाजवादीको केन्द्रीय सदस्य छाडेर एमाले प्रवेश गरेका हरिवन निवासी पुराना नेता उप्रेतीलाई एमालेले मधेश प्रदेश कमिटीको सचिवालय सदस्य बनाएको हो । एमाले प्रदेश कमिटीको यहि भदौ १० गते बसेको बैठकले उप्रेतीलाई प्रदेश कमिटीको सचिवालय सदस्यमा मनोनित गर्ने निर्णय गर्यो ।
पार्टी बैठकको निर्णय अनुसार मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले उप्रेतीलाई प्रदेश कमिटीमा मनोनित गरिएको पत्र निकालेर जानकारी गराएका छन् । एमालेमा फर्किएपछि पनि केन्द्रीय सदस्य बन्ने आश गर्नुभएका उप्रेती भने यो निर्णयबाट सन्तुष्ट छैनन् ।
एकीकृत समाजवादीमा केन्द्रीय सदस्य रहेको र एमालेमा फर्किंदा त्यही दाबी गर्दै आएपनि सो पद नपाएपछि चित्त दुःखेको उप्रेतीको भनाई छ । निर्णयप्रति चित्त नबुझे पनि तत्कालको लागि आफूले एमाले प्रदेश कमिटीमै बसेर काम गर्ने उनले बताए ।
तत्कालीन हरिवन गाविसका पूर्वअध्यक्षसमेत रहेका उप्रेतीले एक कार्यकाल एमालेको सर्लाही जिल्ला अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् ।