logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइने


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा निजामती सेवा दिवस २०८० विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।

सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखसहित कार्यालय प्रमुखहरुको बैठकले रक्तदान, फलफूल वितरण, मैत्रीपूर्ण फुटबल, प्रभातफेरि र सेवानिवृत्त कर्मचारीलाई सम्मान गरी निजामती सेवा दिवस मनाउने निर्णय गरेको हो । यो दिवस भदौ २२ गते मनाइँदै छ ।

दिवसको अवसरमा भदौ १८ गते लालबन्दी नगरपालिकामा रक्तदान र सोही दिन लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा फलफूल वितरण गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, भदौ २१ गते सदरमुकाम मलंगवास्थित कवर्डहलमा मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिने भएको छ ।

त्यसैगरी, दिवसकै दिन भदौ २२ गते बिहान जिल्ला प्रशासन कार्यालयबाट प्रभातफेरि निकाल्ने, त्यसपश्चात सोही कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्ने र त्यहीँ नै जिल्लाभित्र सेवानिवृत्त भएका कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम तय भएको बैठकमा सहभागी नापी कार्यालय मलङ्गवाका प्रमुख सन्जय मानन्धरले बताए ।

यसैबीच, सोही बैठकबाट कर्मचारी मिलन केन्द्र सर्लाहीको तदर्थ समिति गठन गरिएको छ । समितिमा नापी कार्यालय मलंगवाका प्रमुख मानन्धर अध्यक्ष, जिल्ला समन्वय समितिको कार्यालय मलंगवाका इन्जिनियर रामजीबाबु यादव उपाध्यक्ष, भन्सार कार्यालय मलंगवाका अधिकृत डम्बरबहादुर बस्नेत सचिव, कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख देवानन्द राय यादव कोषाध्यक्षसहित कृषि सामग्री कम्पनि लिमिटेड नवलपुरका प्रमुख दीपक कुमार बरम्ले, ब्रम्हपुरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउत र जिल्ला प्रशासन कार्यालय मलंगवाका प्रशासकीय अधिकृत रामनरेश राम सदस्य रहेका छन् ।

कर्मचारी मिलन केन्द्रको सल्लाहकारमा सर्लाही जिल्ला अदालतका जिल्ला न्यायाधीश कविप्रसाद न्यौपाने र संरक्षकमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई राखिएको छ ।