फाइल तस्बीर ।
लालबन्दी – सर्लाहीमा शुक्रबार बिहानैदेखि निरन्तर झरी परिरहेको छ ।
निरन्तर हल्का वर्षा भइरहेकाले स्थानीय वासिन्दाले शुक्रबार चिसो महसुस गरिरहेका छन् । यो वर्ष अत्यन्त गर्मी खेपेका यस क्षेत्रका वासिन्दाले पानी परेर चिसो हुँदा राहत महसुस गरेका हुन् ।
उत्तरी चुरेभेगको डाँडा कुहिरो लागेर ढाकेको छ । निरन्तर पानी पर्दा अधिकांश स्थानीय घरमै छन् । यहाँको बागमती, कालिन्जोर, फूलजोर, लखन्देही, बाँके लगायतका खोलामा बाढी आइरहेको छ ।
बाढी आएकाले नारायण खोला, शिर कालिन्जोर, पिपलदमारलगायत चुरेभेगका गाउँको बजार क्षेत्रसँग सम्वन्ध बिच्छेद भएको छ । बाढी आएकाले स्थानीय पैदल हिँडेर बजार आउन सकेका छैनन् ।
पानी परेपछि कच्ची सडक हिलाम्मे तथा जलमग्न भएकाले आवतजावतमा समस्या रहेको स्थानीयले गुनासो गरेका छन् ।