बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ११ र १२ का १६९ परिवारलाई शुक्रबार गाउँ ब्लक जग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।
२०२२ सालदेखि गाउँ ब्लक जग्गामा बसोवास गर्दै आइरहेका साबिक लौकठ गा.वि.स. हाल बरहथवा नगरपालिका ११ र १२ का स्थानीयलाई नापी कार्यालय मलङ्गवाले शुक्रबार बिहान एक कार्यक्रम गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराएको हो । बरहथवा ११ हीरापुरस्थित वडा कार्यालयमा मेयर कल्पनाकुमारी कटुवाल, नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, बरहथवा ११ र १२ का वडाध्यक्ष क्रमश ः नवराज राई र रामजी राय यादवलगायत भएर गाउँ ब्लक जग्गामा बसोवास गर्नेहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेका नापी कार्यालय मलङ्गवाले जनायो ।
गाउँ ब्लक जग्गामा बसोवास गरेको वर्षौपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्दा स्थानीयले खुसी व्यक्त गरेका छन् । स्थानीय खहेरु साहले वर्षौदेखिको प्रतिक्षापछि जग्गाधनी प्रमाणपुर्जा पाउँदा अत्यन्त खुसी लागेको सुनाए ।
२०७० सालमै जग्गा नापजाँच भएपनि विभिन्न कारण पुर्जा वितरणमा ढिलाई हुँदै आएको थियो । नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धरले सम्पूर्ण प्राविधिक काम सकेर १६९ परिवारलाई पाँच बिघा ११ कठ्ठा ८ धुर जग्गाको लालपुर्जा तयार पारेर वितरण गरिएको जानकारी दिए ।
उनले थप ८÷१० घरधुरीमा बसोबास गर्ने परिवारको पनि तत्कालै जग्गाधनी प्रमाणपुर्जा तयार पारेर वितरण गरिने उज्यालो अभियानसँग बताएका छन् । नापी कार्यालय मलङ्गवाले यसअघि साउन २६ गते हरिवन नगरपालिका–६, पत्थरकोेठिया गाउँका २१ परिवारलाई गाउँब्लक जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको थियो ।
कार्यालय प्रमुख मानन्धरका अनुसार अब केही साताभित्रै पर्सा गाउँपालिकाको नारायणपुरमा ४५० परिवार र विष्णु गाउँपालिकाको बत्रौलमा २०० परिवारलाई यसैगरी गाउँब्लक जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी भइरहेको छ ।