मलंगवा – सुविधा सहकारी मलंगवाका बचतकर्ताले आफूहरुको पैसा एक साताभित्र फिर्ता गराइदिन माग गर्दै बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।
मलंगवा नगरपालिका ८ मा रहेको उक्त सहकारीका अध्यक्ष ईश्वर गुप्ता फरार भएपछि संस्थाका सदस्य तथा बचतकर्ताले बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा पुगेर सीडीओ इन्द्रदेव यादवलाई ज्ञापन पत्र बुझाएका हुन् । पीडितहरुले जिल्ला समन्वय समितिको सभा हलमा समितिका सभापति कौशलकिशोर सिंहको समेत उपस्थितिमा छलफल गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।
पीडितले सहकारी संस्थाविरुद्ध गठन गरेको संघर्ष समितिका संयोजक राजेन्द्र साहसहित अन्य सदस्यको हस्ताक्षर रहेको ज्ञापन पत्रमा संस्थाका अध्यक्षसहित अन्य सदस्य र जिम्मेवारी कर्मचारीलाई झिकाई ७ दिनभित्र सबै पीडित सदस्य तथा बचतकर्ताको पैसा फिर्ता गराउने वातावरण मिलाइदिन माग गरिएको छ ।
७ दिनभित्र सहकारीमा डुबेको रकम नपाए आन्दोलन गर्ने संघर्ष समितिले चेतावनी दिएको छ ।