लालबन्दी – पूर्व–पश्चिम राजमार्ग (कमला–ढल्लेबर–पथलैया) सडक खण्ड १३० किलोमिटर स्तरोन्नतिको कार्यबारे बुधबार लालबन्दीका सरोकारवालालाई राखेर छलफल गरिएको छ ।
यहाँका जनप्रतिनिधि, यातायात व्यवसायी, केही अगुवा स्थानीय, सुरक्षा अधिकारी लगायतसँग सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले लालबन्दी नगरपालिकाको पुरानो हलमा छलफल गरेको हो । प्रस्तावित १३० किलोमिटर यो सडकलाई ४ लेनको बनाउने सरकारको योजना छ । सडक के कसरी बनाउने योजना छ ?, वातावरणीय प्रभाव मूल्यांकन, कहाँनिर कुन संरचना निर्माण हुन्छन् ? भन्ने बारे जानकारी र यहाँका सरोकारवालाको आकांक्षा तथा सुझाव लिएर सडक विभागको टोली फर्किएको छलफलमा सहभागी लालबन्दी नगरपालिका ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले जानकारी दिए ।
यो सडकलाई एशियाली मापदण्डमा बनाउँदा ४० करोड २२ लाख ३५ हजार ५७२ रुपैयाँ ७५ पैसा लागत लाग्ने अनुमान छ । बुधबारको छलफलमा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, पूर्व पश्चिम राजमार्ग पर्ने वडा नं. १, ९, ७, ६ र १७ नम्वर वडाका वडाध्यक्षसहित अन्य सरोकालाको उपस्थिति रहेको थियो ।