logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिपूर्वा र पर्सामा ७ हजार बढी बालबालिकालाई छाता वितरण


  • उज्यालो अभियान

हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा ७ हजार २ सय बालबालिकालाई छाता र पानी बोक्ने बोतल वितरण गरिएको छ ।

बागमती सेवा समाज नेपालले बाल स्पोन्सरशीप परियोजना अन्तर्गत जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने यि दुई पालिकामा सो संख्याका विद्यार्थीलाई छाता र बोतल उपलब्ध गराएको हो । संस्थाले बाल स्पोन्सरशीप परियोजना अन्तर्गत हरिपूर्वा र पर्सामा बालबालिकाको शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको छ ।

आर्थिक अवस्था कमजोर रहेका विद्यालय जान नपाएका बालबालिकालाई जोड दिएर काम गरिरहेको बागमती सेवा समाज नेपालका अध्यक्ष भरतकुमार कार्कीले जानकारी दिए । संस्थाका अध्यक्ष कार्की र वल्र्ड भिजनकी प्रतिनिधि सीता चौधरीको उपस्थितिमा बालबालिकालाई वर्षायाममा विद्यालय जाँदा ओढनका लागि छात र घरबाटै स्वच्छ पानी लैजानका लागि बोतल वितरण गरिएको हो ।

कार्कीका अनुसार यही कार्यक्रममा अहिले व्यापक रुपमा फैलिरहेको आँखा पाक्ने रोगबाट बच्ने उपायका सम्वन्धमा स्वास्थ्यकर्मीबाट अभिमुखीकरण समेत प्रदान गरिएको छ ।