लालबन्दी – आफूले कार्यक्रम संचालन गर्ने ५ वटा पालिकाका महिला जनप्रतिनिधिलाई सक्रिय पार्दै लगिरहेको मान्डवी संस्थाको पहलमा गठन गरिएको जिल्ला महिला जनप्रतिनिधि सन्जालको पहिलो बैठक शुक्रबार लालबन्दीमा बसेको छ ।
सन्जालकी जिल्ला अध्यक्ष गीता राउतको अध्यक्षतामा बसेको बैठकमा सचिव प्रतिमा चौधरीसहित अन्य सदस्यहरुको उपस्थिति रहेको थियो । मान्डवीले सि लिड्स परियोजना अन्तर्गत जिल्लाको बरहथवा, बागमती, कविलासी, हरिपूर्वा र हरिवन नगरपालिकामा काम गर्दै आइरहेको छ ।
संस्थाका कार्यक्रम अधिकृत मनिल श्रेष्ठको उपस्थितिमा बसेको जिल्ला महिला जनप्रतिनिधि सन्जालको बैठकले लैंगिक उत्तरदायी बजेट कार्यान्वयनका लागि पालिकाहरुलाई पत्राचार गर्ने र यस विषयमा राजनीतिक दलहरुलाई समेत ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ । त्यस्तै, जिल्ला प्रशासन कार्यालय मलंगवामा सामाजिक संजालमा हुने महिला माथिको दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति अन्त्य सम्वन्धी अभियानबारेमा ध्यानाकर्षण पत्र बुझाउने, सन्जालको बैठक अबदेखि नियमित बस्नेलगायतका निर्णय बैठकमा भएको छ ।
बैठकमा ५ वटा पालिकाबाट २४ जना महिला जनप्रतिनिधि सहभागी थिए । मान्डवीले परियोजना संचालन भएका पालिकामा मुख्यतः निर्वाचित महिलाहरुको योजना तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताका लागि समग्र नेतृत्व क्षमता सुदृढिकरण गर्ने लक्ष्य लिएको छ ।