लालबन्दी – नेकपा एमाले निकट किसान महासंघले आज लालबन्दी र हरिवनका मेयरलाई ज्ञापन पत्र बुझाएको छ ।
किसानको विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाइएको एमाले मधेश प्रदेश कमिटीका सदस्य प्रभुनारायण शिवाकोटी (श्याम) ले जानकारी दिए । उनका अनुसार एमाले नेताहरु नगरपालिकामै पुगेर लालबन्दीमा मेयर बासुदेव अधिकारी र हरिवनमा मेयर रमेश बुढाथोकी (कमल) लाई ज्ञापन पत्र बुझाएका हुन् ।
गाईवस्तुमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न, यो रोगबाट मरेका पशु चौपायको क्षतिपूर्तिको व्यवस्था गर्न, बाली बीमा गर्न, उन्नत जातको बीउ वितरण गर्न, सिँचाईको प्रवन्ध गर्न लगायतका माग राखी ज्ञापन पत्र बुझाइएको किसान महासंघका केन्द्रीय उपाध्यक्ष राजकुमार उप्रेतीले बताए ।
यि माग राख्दै महासंघले केही दिनअघि हरिवनमा २ घण्टा चक्काजाम गरेको थियो ।