logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बागमती, कविलासी र बलरामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइयो


  • उज्यालो अभियान

बागमती नगरपालिकाको कार्यालय । (फाइल तस्बीर)

बागमती – सर्लाहीका ८ वटा पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएको केही दिनमै फेरि थप ३ वटा पालिकामा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको छ ।

शाखा अधिकृतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर चलाइएका बागमती, कविलासी र बलरा नगरपालिकामा उपसचिवहरु खटाइएको हो । बागमती नगरपालिकामा राष्ट्रिय योजना आयोगबाट उपसचिव कृष्ण ब्यान्जुलाई सरुवा गरिएको छ । बागमतीमा शाखा अधिकृत विमल कुमार पोखरेल लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् ।

यस्तै, शाखा अधिकृतकै भरमा रहेको कविलासी नगरपालिकामा पनि उपसचिव पठाइएको छ । यहाँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट उपसचिव वुद्धिप्रसाद उपाध्यायलाई पठाइएको हो । कविलासीमा शाखा अधिकृत राम नारायण साहले निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन् ।

त्यस्तै, शाखा अधिकृत उमेश महतो निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेको बलरा नगरपालिकामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाटै उपसचिव लेखनाथ ज्ञवानीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाहरुलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत मुक्त गर्ने अभियान अन्तर्गत दरबन्दी अनुसार नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत खटाइरहेको छ ।

केही दिनअघि मात्रै जिल्लाको मलंगवा नगरपालिका र बरहथवा नगरपालिकामा उपसचिव तथा धनकौल, विष्णु, कौडेना, बसबरिया, रामनगर र पर्सा गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको थियो । तर, एक हप्ता हुन लाग्दा समेत नयाँ उपसचिव तथा शाखा अधिकृत कुनै पनि पालिकामा हाजिर भएका छैनन् ।

मन्त्रालयले नयाँ पठाउने प्रमुख प्रशासकीय अधिकृतलाई प्रायः पालिकामा टिक्नै दिइँदैन् ।

अधिकांश जनप्रतिनिधि आफू निकटका तथा आफूले भनेको मान्ने तल्लो तहका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन रुचाउँछन् । त्यसैले मन्त्रालयले सरुवा गरेर पठाएका प्रमुख अधिकृतकलाई अनेक तरिका अपनाएर काम गर्नै नदिई फर्काउने प्रवृत्ति व्याप्त छ ।