logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

विभिन्न माग राख्दै एमालेद्वारा सीडीओमार्फत सरकारलाई ज्ञापन पत्र


  • उज्यालो अभियान

मलंगवा – चार वटा माग तत्काल सम्वोधन गर्न माग गर्दै मंगलबार नेकपा एमालेले जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको छ ।

माग पुरा नभए आन्दोलनमा जान वाध्य हुनु पर्ने चेतावनी पनि एमालेले पत्रमा उल्लेख गरेको छ । एमाले जिल्ला अध्यक्ष राजनारायण साहको हस्ताक्षर भएको ध्यानाकर्षण पत्रमा सर्लाहीलाई सुख्खा क्षेत्र घोषणा, लम्पी स्किन रोगको उपचार, उखु किसानको अनुदान भुक्तानी र वाढीको जोखिम वढेकाले सावधानीका काम तत्काल गर्न माग गरिएको एमाले नेता चूडामाणि वाग्लेले जानकारी दिए ।

ध्यानाकर्षण पत्र वुझ्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेकपा एमाले सर्लाहीले राखेका माग सम्वन्धित निकायमा मंगलबार नै जानकारी गराउने बताए । ध्यानाकर्षण पत्रमा एमालेले तत्काल सुख्याग्रस्त जिल्ला घोषणा गरि किसानलाई राहतका कार्यक्रम ल्याउन माग गरेको छ ।

मागमा उखु किसानले राज्यले दिनु पर्ने प्रती क्विन्टल ७० रुपैयाँ पनि नदिएकोले तत्काल दिन माग गरेको छ । सुक्खाको असर र लम्पी स्किन रोगवारे जिल्लामा तथ्यांक समेत नभएको आरोप लगाउदै उसले केही संकलन गरेको तथ्यांक समेत पत्रमा उल्लेख गरेको छ ।

एमालेले लम्पी स्किन रोगले जिल्लामा २५ हजार भन्दा वढी चौपाया विरामी भएको र ठुलो सख्यामा मरेको दावी गरेको छ । ध्यानाकर्षण पत्रमा ईश्वरपुर नगरपालिकामा मात्र ४ हजार भन्दा वढि पशु विरामी भएको जनाएको छ । एमालेले मरेका पशुको कृषकलाई राहत दिन र भ्याक्सीन सहित उपचार निशुल्क गर्न माग गरेको छ ।

यस्तै साउन र भदौमा आकस्मीक वर्षात भएर वाढी आउने संभावना भएकाले एमालेले स्थानीय प्रशासन मार्फत प्रधानमन्त्रीलाई सचेत गराएको छ । वाढि, पहिरो र डुवान जस्ता समस्यामा क्षती हुन नदिन र राहतका कार्यक्रमको लागि पुर्व तयारी थाल्न ध्यानाकर्षण गराएको एमाले नेता वाग्लेले बताए ।

एमालेका मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले जिल्लाका मागहरु समेटेर राज्यको ध्यानाकर्षण गराउन निर्देशन दिएकाले मधेश प्रदेशका ८ वटै जिल्लाले मंगलबार प्रधानमन्त्रीलाई माग पठाएको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ध्यानाकर्षण पत्र लिएर एमाले केन्द्रीय सदस्य सहित ५० भन्दा वढि नेता कार्यकर्ता पुगेका थिए ।

एमालेले उठाएका मागलाई जनपक्षिय भन्दै कृषकहरुले पनि सकारात्मक रुपमा लिएका छन । जिल्ला प्रशासन कार्यालय मलंगवामा भेटिएका स्थानीय ललन यादबले एमालेले किसानको पक्षमा सही आवाज उठाएको धारणा राखे ।