logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सक्रौलमा लखन्देहीको बाढीले बाँध भत्कायो, गाउँ जोखिममा


  • उज्यालो अभियान

कौडेना – लखन्देही खोलाले बाँध कटान गरेर बस्तीतर्फ बाढी पसेपछि सर्लाहीको कौडेना गाउँपालिका–७, सक्रौल गाउँ जोखिममा परेको छ ।

सोमबार रातिदेखि मंगलबार बिहानसम्म भएको अविरल वर्षापछि खोलामा आएको बाढी बाँध भत्काएर बस्तीतर्फ सोझिएको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले जानकारी दिए । उनका अनुसार खोलामा पानीको सतह कम नहुञ्जेल बाँध कस्न सक्ने अवस्था छैन् । उनले फेरि ठूलो पानी परे बस्ती नै खाली गरेर स्थानीयलाई अन्यत्र सार्नुपर्ने अवस्था छ ।

खोला छेउमै होँचो स्थानमा रहेको सक्रौल गाउँमा बर्सेनि बाढी पसेर बस्ती डुबानमा पार्ने गरेको छ । बाढीले खोलाको बाँध कटान गरेर बस्ती डुबानमा पर्न थालेपछि स्थानीय त्रसित भएका छन् । खोलाले बाँध भत्काएपछि ५० भन्दा बढी घर जोखिममा परेका स्थानीय सञ्चारकर्मी निरज यादवका बताए ।

यस्तै, बागमती नदीले बरहथवा नगरपालिका–१, हजरिया खर्साल घाटमा पनि भर्खरै कसिएको बाँध भत्काएको छ । बाढी आएर बाँध भत्काएको स्थानमा जनप्रतिनिधि र स्थानीय वासिन्दासँग समन्वय गरी तत्काल अस्थायी रुपमा बाँध कस्ने काम गरिएको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार पुनः भारी वर्षा भइ नदीमा बाढी आए किसानको खेत र बस्तीमा क्षति गर्ने जोखिम छ । डीएसपी लामिछानेका अनुसार बाढी पसेर हजरिया क्षेत्रमा उखु र मकै बालीमा क्षति पुर्याएको छ ।

खर्साल घाटमा वर्षेनि बाढीले क्षति पुर्याउने गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हजरिया र सक्रौलमा बाँध कटान गरेर डुबानको जोखिम रहे पनि जिल्लामा अन्यत्र सामान्य अवस्था रहेको बताए ।

सीडीओ यादवसहितको टोली आज दिउँसोबाट बाढी तथा डुबान प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएको छ । अविरल वर्षापछि जिल्लाको चुरेभेगका नारायण खोला, पिपलदमार, शिर कालिञ्जोर लगायत खोलाको बगर भएर आवतजावत गर्नुपर्ने क्षेत्रमा आउजाउ बन्द भएको छ ।