फाइल तस्बीर ।
लालबन्दी – सर्लाहीमा हिजोदेखि मौसम बद्ली भई स्यार्रसुर्र पानी पर्दा गर्मी कम भएको छ ।
निरन्तरको गर्मीबाट आजित भएका यस क्षेत्रका नागरिकले हल्का वर्षा हुँदा राहत महसुस गरेका छन् । धान खेतमा जम्ने गरी पानी पर्न नसकेपनि मकै, उखु, लहरीलगायतका हिउँदे बालीलाई यो पानीले फाइदा नै गरेको कृषि प्राविधिकले बताएका छन् ।
राति कतैकतै एक झर राम्रैसँग वर्षा भएको र सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा पानी छिट्याएको मात्रै हाम्रा संवाददाताले जनाएका छन् । आज पनि सर्लाहीको मौसम पानी पर्लाजस्तो भई कालो बादल लागेर धुम्मिएको छ ।
जिल्लाका किसान पर्याप्त आकाशे वर्षाको प्रतिक्षामा बसेका छन् । यहाँ ठूलो पानी पर्न नसक्दा आकाशे वर्षाको भरमा खेती हुने उत्तरी भेग र पूर्वी भेगका किसान मारमा परिरहेका छन् । आज साउनको २२ भइसक्दा समेत केही किसानले रोपाइँ गर्न पाएका छैनन् ।
धानको बीउ पसाउन थालिसकेको छ । विशेष गरी उत्तरी भेगका हरिवन, लालबन्दी र ईश्वरपुर तथा पूर्वी भेगका हरिपूर्वा, चन्द्रनगर, पर्सा र ब्रम्हपुरी गाउँपालिकामा आकाशे वर्षाको भर छ । एक झर जम्ने गरी ठूलो पानी परे यहाँ रोपाइँ गर्न बाँकी रहेका किसानले रोपाइँ सक्ने र रोपेर हरियो फिर्न लागेको धान बालीलाई पनि फाइदा पुग्ने किसानले बताएका छन् ।
यो वर्ष वर्षायाममा समेत ठूलो पानी पर्न नसकेको गुनासो किसानले गर्ने गरेका छन् । मौसम धाम्मधुम्म भई भारी वर्षा होला जस्तो भएपनि पानी पर्न नसकी टर्ने गरेको छ । पानी पर्दा पनि खण्डवृष्टि अर्थात् नजिकै धेरथोर पानी पर्ने र अर्को ठाउँमा पानी छिटयाउँदै नछिट्याउने भइरहेको छ ।