मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा मंगलबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता तथा जिल्ला समन्वय समितका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समितिको हलमा बैठक बसेको हो । बैठकले जिल्ला समन्वय समितिमा सोमबार बसेको सर्वदलिय÷सर्वपक्षिय बैठकको निर्णय अनुसार जिल्ला विपद् व्यवस्थापन समितिबाट पनि जिल्लालाई सुक्खा क्षेत्र घोषणा गरी राहतका लागि संघ तथा प्रदेश सरकारलाई सिफारिस गर्ने, जिल्लाका किसानले पालेको पशु चौपायमा व्यापक रुपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणका लागि ३ लाख डोज खोप उपलब्ध गराउन अनुरोध गर्ने, महालक्ष्मी र अन्नपूर्ण चिनी उद्योगबाट किसानको बाँकी बक्यौता तथा सरकारले दिने अनुदान रकम ७० रुपैयाँका लागि अनुरोध गर्नेलगायत विपद्सँग सम्वन्धित निर्णय गरेको छ ।
बैठकमा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख, विपद्को क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि, दलका नेता, नागरिक समाज र अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।