फाइल तस्बीर ।
बागमती – सर्लाहीको बागमतीबाट प्रहरीले आगूऔषध गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ ।
कारमा सवार दुई जना व्यक्ति पनि पक्राउ परेका छन् । आइतबार साँझ पूर्व–पश्चिम राजमार्ग हुँदै रौतहटबाट सर्लाही छिरेको प्रदेश–३–०१–०२२ च ६५१५ नम्वरको कारलाई बागमतीस्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडि चेकजाँच गर्दा १० किलो गाँजासहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कार चालक रौतहटको गरुडा नगरपालिका–८, बस्ने ४० वर्षीय रामानन्द साह र सोही कारमा सवार रौतहटकै चन्द्रपुर नगरपालिका–५, बस्ने २६ वर्षीय मनिष चौधरी रहेका प्रहरीले जनाएको छ । उनीहरुले कारको डिकीभित्र दुईवटा बण्डलमा लुकाएर हिँडेको गाँजा फेला पारिएको प्रहरीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शिवराम थापाले उज्यालो अभियानसँग बताए ।