लालबन्दी – आज साउनको तेस्रो सोमबार पनि सर्लाहीहका शिव मन्दिरमा दर्शनार्थीको चहलपहल देखिएको छ ।
व्रतालु महिला तथा पुरुष आ–आफ्नो नजिकका शिवालयमा पुगेर पूजाआजा तथा दर्शन गरिरहेका हुन् । जिल्लाको लालबन्दीस्थित डुमडुमे मन्दिर, हरिपुरको चिताइन, हरिवनको सुखेपोखरी र कैलाशपुरी, मूर्तिया, सागरनाथ, फरहदवालगायत प्रत्येक गाउँमा रहेका शिवालयमा दर्शनार्थी पुगिरहेका हुन् ।
साउने सोमबारका दिन विशेष गरी महिलाहरु व्रत बसी मन्दिरमा दर्शनका लागि पुग्ने गरेका छन् । अक्लेश्वर महादेव मन्दिर डुमडुमेमा लालबन्दी बजारसहित आसपासका श्रद्धालु पूजाअर्चनाका लागि आइरहेका स्थानीय शिक्षक ऋषिप्रसाद सुवेदीले जानकारी दिनुभयो । यही बेला पूर्व–पश्चिम राजमार्ग तथा नवलपुर–मलंगवासहितका सडकमा बोलबमका यात्री देखा परिरहेका छन् ।
बागमती नगरपालिकास्थित बागमती नदीमा जल उठाउन आउनेहरु पनि बढिरहेका स्थानीय जीवन आचार्यले बताउनुभयो । सर्लाहीबाट महोत्तरीको टुटेश्वर महादेव मन्दिर, जानकी मन्दिर जनकपुरलगायतका स्थानमा दर्शन गर्न जाने पनि उत्तिकै हुन्छन ।
यो साउनमा यहाँको लालबन्दी, हरिवन, बयलवास, बरहथवा, मलंगवालगायतका बजारमा हरियो, पहेँलो कपडा, चुरा, पोते, मेहन्दीलगायतको व्यापार भइरहेको व्यापारीले बताएका छन् ।