गोडैता – सर्लाहीको गोडैता बजारको अवस्था आज (आइतबार) सामान्य छ ।
त्यहाँ हिजो मोहरम पर्व मनाउनेक्रममा दुई फरक समुदायबीच विवादको स्थिति सिर्जना भएपछि प्रहरीले अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । साँझ केही समय तनाव उत्पन्न भएपनि अहिले भने बजार क्षेत्रको अवस्था सामान्य रहेको सर्लाही प्रहरीका सूचना अधिकारी डीएसपी दीपेन्द्र पन्जियार थारुले आइतबार बिहान उज्यालो अभियानलाई जानकारी दिए ।
दुई पक्षबीच ढुंगा हानाहान हुँदा केही व्यक्ति घाइते भएका छन् । त्यसमध्ये खुट्टामा चोट लागेर घाइते एक युवकको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको र अन्य घाइते डिस्चार्ज भइसकेका डीएसपी पन्जियारले बताए । उनका अनुसार ढुंगाले लागेर केही प्रहरी पनि सामान्य घाइते भएका छन् ।
घटनास्थलमा रातभर नै बाक्लो मात्रामा प्रहरी तैनाथ गरियो । अहिले बिहान पनि बजार क्षेत्रमा ठूलै संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको स्थानीय संचारकर्मी निरज यादवले जनाए ।
गएसाँझ विवाद भएको गोडैता बजार क्षेत्रमा अहिले बिहान प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा अधिकारीको टोली निरीक्षणमा जाँदै छ । त्यहाँबाट फर्किएपछि बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय÷सर्वपक्षिय बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी यादवले उज्यालोसँग बताए ।
स्थानीय प्रशासनले सावधानी अपनाउँदा–अपनाउँदै दुई समुदाय जम्काभेट हुँदा गोडैता बजार क्षेत्रमा गएसाँझ असमान्य स्थिति बनेको हो । त्यहाँ केही साताअघि देखि विवाद रहँदै आएको छ ।
मोहरम पर्व मनाउने क्रममा जिल्लाका अन्य स्थानमा भने कुनै किसिमका अप्रिय घटना नभएका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायो । जिल्लामा हिजो मोहरम पर्व मुस्लिम समुदायले बयलवास, हरिपूर्वा, मलंगवा, हरिवनसहितका बजारमा हतियारसहित नाचगान गरेर मनाएका छन् ।