फाइल तस्बिर ।
मलंगवा – सर्लाहीका मुस्लिम समुदायले पनि आज आफ्नो महान पर्व मोहरम हर्षोउल्लासपूर्वक मनाउँदै छन् ।
जिल्लामा मुस्लिम समुदायको बसोवास रहेको मलङ्गवा, लक्ष्मीपुर, बयलवास, सुन्दरपुर, भाडसर, खुटौना, चक्रघट्टालगायतका स्थानमा धुमधामसँग मोहरम पर्व मनाउन लागेका हुन् । मुस्लिम समुदायले मोहरम अर्थात् दाहा पर्व हातहतियार प्रदर्शन गरी मनाउने गर्छन् ।
जिल्ला सुरक्षा समिति सर्लाहीले दुई दिनअघि गएको बिहीबार नै एक सूचना जारी गरी मोहरम पर्व सामाजिक सद्भाव कायम हुने गरी मनाउन अपिल गरिसकेको छ । पर्व मनाउने क्रममा कार्यक्रमहरु गर्दा मानव अधिकारको सम्मान, शान्ति सुव्यवस्था कायम, सार्वजनिक सम्पत्तिको संरक्षण र सामाजिक सद्भाव कायम गरी पर्व मनाउन हुन सबैमा अनुरोध गरिएको छ । यस पर्वलाई लक्षित गर्दै जिल्लाभर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । जिल्लाभरका प्रहरी युनिटले गस्ती बढाएका छन् ।
सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले विगतका वर्षमा असहज स्थिति सिर्जना भएका स्थानमा प्रहरी तैनाथ भइरहेका जानकारी दिए । जिल्ला प्रहरीले संवेदनशील स्थलहरुमा डीएसपी र इन्स्पेक्टरलाई कमाण्डरका रुपमा खटाउँदै छ ।
डीएसपी थारुका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका इलाकामा आज प्रहरी टोली तयारी अवस्थामा रहने बताए ।
यसैबीच, मोहरम पर्वलाई सौहार्दपूर्ण रुपमा सम्पन्न गर्ने उद्देश्यसहित हिजो गोडैतामा हिन्दु र मुस्लिम दुवै समुदायका अगुवा तथा सुरक्षा अधिकारीबीच संयुक्त बैठक बसेको छ । दुवै समुदायका जिल्लास्थित अगुवासहित आफूहरु बसेर मोहरमलाई शान्तिपूर्ण बनाउने निर्णय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
सीडीओ यादवले गोडैतामा केही समयदेखि दुई समुदायबीच विभिन्न विषयमा विवाद समेत भइरहेकाले त्यही ठाउँमा बैठक राखेर सकात्मक सन्देश दिने उद्देश्यसहित कसैलाई वाधा अवरोध नहुने र सामाजिक सद्भाव कायम हुने किसिमले पर्व मनाउने निर्णय भएको बताए ।