logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

किसानको समस्या समाधान गर्न माग गर्दै चक्काजाम


  • उज्यालो अभियान

हरिवन – पशुचौपायमा व्यापक मात्रामा फैलिरहेको ‘लम्पी स्किन’ रोग नियन्त्रणसहितका माग राख्दै सर्लाहीको हरिवनमा शुक्रबार चक्काजाम गरिएको छ ।

नेकपा एमाले निकट अखिल नेपाल किसान महासङ्घ मधेश प्रदेशले किसानका मुद्दा उठान गरी हरिवन बजार क्षेत्रमा मध्यान्ह करिव दुई घण्टा राजमार्ग अवरुद्ध पारेको हो । महासङ्घले लम्पी स्कीन रोगलाई महामारी घोषणा गरी मरेका पशुको क्षतिपूर्तिको व्यवस्था गर्न र मरेका पशुको बीमा भुक्तानि तत्काल हुनुपर्ने माग राख्दै चक्काजाम गरिएको जनाएको छ ।

लम्पी स्किनले पशु चौपाय धमाधम मर्दा पनि रोगविरुद्धको खोप लगाउन बेवास्ता गरिएकाले सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले चक्काजाम गरिएको अखिल नेपाल किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए । यस्तै, गत वर्ष पुस÷माघमै बिक्री गरेको उखुको सरकारले प्रदान गर्नुपर्ने अनुदान रकम (प्रतिक्विन्टल ७०) रुपियाँ तत्काल प्रदान गर्न महासङ्घले माग गरेको छ । चिनी उद्योगीबाट बेलैमा भुक्तानी नपाएर हैरान किसान सरकारले नै सात महिनासम्म अनुदान रकम नदिएको गुनासो गरिरहेका छन् ।

चक्काजामका क्रममा रासायनिक मलको सहज आपूर्ति गर्नुपर्ने, मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गर्नुपर्ने लगायतको माग अघि सारिएको छ । तराई क्षेत्रमा अहिले खडेरी जाँदा किसानको बिजोक भइरहेको छ । पानी नपर्दा किसानले रोपाइँ गर्न पाएका छैनन् भने जसोतसो रोपेको धान पनि सुकेर गइरहेको छ ।

खडेरीले प्रभावित यस्ता किसानलाई राहत प्याकेज प्रदान गर्न माग गरिएको महासङ्घका उपाध्यक्ष उप्रेतीले बताए ।