logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मुसहर महिलालाई पशुपालन सम्बन्धि तालिम र बीमा रकम सहयोग


  • उज्यालो अभियान

बसबरिया – सर्लाहीको बसबरिया गाँउपालिका वडा नं ३ भवानिपुर मुसहर बस्तीमा मुसहर महिला कृषक समूहमा पशु पालन सम्बन्धि तालिम संचालन गरिएको छ ।

मुसहर समुदायको उत्थानका लागि कार्यरत साउथ एसिया पार्टनशीप नेपाल (साप–नेपाल) ले एक महिनाअघि मुसहर बस्तीमा ४३ घर परिवारलाई बंगुर, बाख्रा र पाडी वितरण गरेको थियो । सो बस्तीमा ३१ परिवारलाई उन्नत नश्लको बंगुर, ३ परिवारलाई पाडी र ८ परिवारलाई बाख्रा वितरण गरेको थियो ।

विपन्न मुसहर समुदायलाई पशु चौपायको उचित हेरचाह, स्याहार र व्यवस्थापन गर्ने उद्देस्यले बुधबार पशु व्यवस्थापन सम्बन्धि १ दिने तालिमको आयोजना गरेको साप नेपालका प्रदेस संयोजक जनक कार्कीले जानकारी दिए । सोही अवसरका साप–नेपालले समूहमा बितरण गरेका पशुचौपायको बीमा गर्न १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

बसबरिया गाँउपालिकाको पशु स्वास्थ्य शाखासँग समन्वय गरी चौपायालाई निःशुल्क रूपमा जुका, नाम्लेसहित भित्री तथा बाहिरी किरा नियन्त्रणका लागी औषधि लिन कार्कीले अनुरोध गरे । पशु शाखा प्रमुख सत्यन्द्र रायले समूहका कृषकलाई खोर व्यवस्थापन, सरसफाई, सन्तुलित आहार, रोग तथा कीरा नियन्त्रण, र बीमाबारे जानकारी गराए ।

उनले पशु शाखाले कृषकलाई दिने सेवा सुबिधाको बारेमा समेत जानकारी गराए । कार्यक्रममा मुसहर महिला सशक्तीकरण मञ्च बसबरियाकी अध्यक्ष सीतादेवी माझीले साप–नेपालबाट निरन्तर सचेतनामूलक कार्यक्रम प्रदान गरिएपछि बस्तीमा सरसफाइ गर्ने, आफ्ना बालबालिकालाई विद्यालय पठाउने, बचत गर्नेजस्ता सकारात्मक परिवर्तन आइरहेको बताईन् ।