लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–९, डुमडुमेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ब्लक बिछ्याउनका लागि एक लाख ५१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।
लालबन्दी ७ बजारस्थित एनआईसी एशिया बैंक मुनी कमल फार्मेसी संचालन गर्दै आएका महोत्तरीको गौशाला निवासी कमल पासवानले अस्पतालका लागि सो रकम सहयोग गरेका हुन् । पासवान सो रकम बराबरको चेक बुधबार बिहान लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीलाई हस्तान्तरण गरे ।
मेयर अधिकारीले मनकारी व्यक्ति पासवानले गरेको यो सहयोगले अस्पतालको भौतिक अवस्था सुधार गर्न ठूलो टेवा पुग्ने भन्दै आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा व्यक्त गरे ।
पासवानले स्वास्थ्यकर्मी रोशन चौधरीसँग समन्वय गरी आफूले प्राथमिक स्वास्थ्य केन्द्रलाई सहयोग प्रदान गरेको उल्लेख गरे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा लालबन्दी ९ का वडाध्यक्ष नारायण अधिकारी, ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल), केन्द्रका निमित्ति इन्चार्ज विनोद लिम्बु लगायतको उपस्थिति थियो ।