logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पार्टीभित्रको अन्तर्घातले ४ नं. क्षेत्रमा चुनाव हारियो : नेतृ देउवा


  • उज्यालो अभियान

धनकौल – नेपाली कांग्रेसका केन्द्रिय सदस्य आरजु राणा देउवाले नेपाली कांग्रेसभित्र अन्तर्घात समस्याका रुपमा रहेको र यसले कांग्रेसलाई पराजित गराइरहेको बताएकी छन् ।

मंगलबार दिउँसो जिल्लाको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित ४ नं. क्षेत्रमा पर्ने धनकौल गाउँपालिका–२, धनकौल बजारमा आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै कांग्रेस नेतृ देउवाले आफ्नै कारणले कांग्रेसले चुनाव हार्ने गरेको बताएकी हुन् । “३६४ दिनसम्म कांग्रेस हुने तर मतदानको एक दिन कम्युनिष्ट तथा अन्य पार्टीमा लाग्नेहरुका कारण हामीले चुनाव हार्ने गरेका छौँ,” उनले भनिन् “हामी हाम्रै कारणले चुनाव हार्छौ, हामीलाई कसैले हराउनै पर्दैन् ।”

उनले क्षेत्र नं. ४ मा कांग्रेसले राम्रो उम्मेदवार उठाउँदा–उठाउँदै आफ्नै कारणले चुनाव हार्नुपरेको उल्लेख गरिन् । यो क्षेत्रमा डाक्टर अमरेशकुमार सिंह अन्तिममा नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवार दिइ गठवन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार पूर्व जिल्ला सभापति नागेन्द्र रायलाई पराजित गर्दै तेस्रो पटक सांसद बनेका छन् ।

नेतृ देउवाले सांसद सिंहप्रति नै लक्षित गर्दै कांग्रेसका उम्मेदवार नजिताउँदा यस क्षेत्रका नागरिकले अहिले थकथकी मान्नु परेको दावी गरिन् । प्रतिनिधि सभा सदस्य समेत रहेकी कांग्रेस नेतृ देउवाले मधेश प्रदेशका लागि सङ्घीय सरकारबाट प्राप्त बजेट कम भएको बताउँर्दै आगामी वर्षदेखि बजेट बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

उनले भारतबाट एक सय रुपैयाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार बुझाउनुपर्ने भन्ने सरकारले भर्खरै गरेको निर्णय व्यवहारिक नभएको बताईन् । “यो निर्णय व्यवहारिक हिसाबले ठीक छैन्, सत्तारुढ दलको सांसद भएको हैसियतले यस्तो अव्यवहारिक निर्णय भएकोमा म यहाँहरुसँग क्षमा नै माग्छु,” नेतृ देउवाले सभालाई सम्वोधन गर्दै अगाडि थपिन्, “यो निर्णय तुरुन्त सच्याउन आवश्यक छ, त्यसका लागि म पनि पहल गर्छु ।”

कार्यक्रममा कांग्रेसका अर्का केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले ६० वर्षसम्म पनि मधेश कांग्रेसको गढकै रुपमा रहेको भन्दै खुसी व्यक्त गरे । उनले यदि कांग्रेसभित्र अन्तर्घात नभएको भए सर्लाहीका १२ वटा पालिकामा मात्रै नभई २० मा २० वटै पालिकामा कांग्रेसले चुनाव जित्ने अवस्था रहेको दावी सभामा सम्वोधनका क्रममा गरेका छन् ।

कांग्रेस सर्लाही क्षेत्र नं. ४ का क्षेत्रीय सभापति तथा धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहको अध्यक्षतामा आयोजित भेलालाई कांग्रेस मधेश प्रदेशका सभापति तथा मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णा यादव, मधेश प्रदेशका उपसभापति तथा स्वास्थ्यमन्त्री वीरेन्द्रप्रसाद सिंह, मधेश प्रदेशसभा सदस्य जङ्गीलाल राय, कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, पूर्व राज्यमन्त्री द्वय शम्भुलाल श्रेष्ठ र नागेन्द्र राय, कांग्रेस सर्लाहीका कोषाध्यक्ष बिगु चौधरी, ईश्वरपुरका मेयर मनोजकुमार आचार्य, हरिपूर्वाका मेयर विनोद साह तेली, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोलगायतले सम्वोधन गरे । कांग्रेस नेता गजेन्द्र साहको संचालन तथा मधेश प्रदेश कार्य समितिकी सदस्य शर्मिला थापाको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कांग्रेसको संस्थापन इतर पक्षका नेता जङ्गिलाल रायबाहेक अन्यको उपस्थिति देखिएन् । पार्टी छाडेर गएका यस क्षेत्रका सांसद डाक्टर अमरेशकुमार सिंहको निर्वाचन क्षेत्रमा पर्ने धनकौल बजारमा कांग्रेसले ठूलो सङ्ख्यामा कार्यकर्ता उतारेर क्षेत्रीय सम्मेलन तथा कार्यकर्ता भेला सम्पन्न गरेको हो ।

स्थानीय प्रशासनले कार्यक्रमस्थलमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरेको थियो । कार्यक्रममा अन्य पार्टीबाट ठूलो सङ्ख्यामा नेता कार्यकर्तालाई पार्टी प्रवेश गराइएको कांग्रेस नेताहरुले दावी गरेका छन् ।