logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

खडेरी लम्बिँदा किसान चिन्तित, सुक्न थाल्यो बाली, अहिले बिहान हपक्क गर्मी


  • उज्यालो अभियान

लालबन्दी – झमझम झरी पर्नुपर्ने साउन महिनामा खडेरी लम्बिँदा सर्लाहीका किसान चिन्तित बनिरहेका छन् ।

यहाँ दिउँसोपख चैत, बैशाखमा जस्तो पूर्वी सुख्खा हावा चल्ने गरेको छ । साँझपख उत्तरतर्फबाट चिसो हावा बहने गरेको छ । उत्तरी सीमावर्ती क्षेत्र सिन्धुलीको मरिण, क्यानेश्वरलगायतका क्षेत्रमा वर्षा भइरहे पनि सर्लाहीमा भने खडेरी गइरहेको छ । पटक–पटक मौसम धुम्मिएर पानी पर्लाजस्तो भएपनि पर्न सकेको छैन् ।

सर्लाहीको मौसम आज पनि धाम्मधुम्म नै छ । यहाँ अहिले बिहान हावा नचलेर हपक्क गर्मी छ । पानी नपर्दा अधिकांश फाँटमा रोपाइँ हुन नपाएर खेत बाँझै छ ।

रोपिसकेको धान पनि पानी नपर्दा सुक्न थालेको छ । कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख देवानन्द यादवले साउनमा खडेरी जाँदा किसानको बिजोक नै भएको बताए । उनले मनुष्मारा र बागमती सिँचाईको नहर लाग्ने तथा पप्पसेट र स्यालो ट्यूबेल सुविधा रहेको क्षेत्रमा ६० देखि ७० प्रतिसत खेतमा रोपाइँ भएपनि आकाशको पानी कुरेर रोपाइँ हुने क्षेत्रमा मुस्किलले २५ देखि ३० प्रतिसत मात्रै रोपाई भएको जानकारी दिए ।

पानी नपर्दा धान खेती मात्रै नभएर मकै बाली पनि सुक्न थालेको छ । वर्षा नहुँदा आम मानिस गर्मीले छटपट्टिरहेका छन् ।