लालबन्दी – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस आइतबार सर्लाहीमा पनि मनाइएको छ ।
दिवसका अवसरमा नेकपा एमाले र एकीकृत समाजवादी पार्टीले बेग्लाबेग्लै कार्यक्रम गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी सर्लाहीले हरिवनस्थित कैलाशपुरीमा रहेको मानव सेवाश्रममा भोजन गराई बनवाटिकामा निर्माण गरिएको पुष्पलालको शालिकमा पुष्पगुच्छा अर्पण कार्यक्रम गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष राजनारायण साहको अध्यक्षता तथा केन्द्रीय सदस्य कमलादेवी महतोको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीको प्रदेश उपाध्यक्ष रेवती पन्त, हरिवनका पूर्व मेयर गणेश प्रसाई, लालबन्दीका पूर्व मेयर मानबहादुर खड्का, नेताहरु राजकुमार उप्रेती, सुदर्शन थपलिया, प्रभुनारायण शिवकोटी (श्याम) तारा पोखरेल, प्रकाश थापा, विदुर प्याकुरेललगायतको उपस्थिति रहेको थियो ।
यस्तै, एकीकृत समाजवादी पार्टी निकट पुष्पलाल स्मृति प्रतिष्ठान सर्लाहीले लालबन्दी नगरपालिकाको परवानिपुरस्थित बोहोरेडाँडामा रहेको पुष्पलालको शालिकमा माल्र्यापण तथा सरसफाई कार्यक्रम गरेको छ । बोेहोरेडाँडामा स्मृति सभा आयोजना गरी शालिक निर्माण भएको क्षेत्रमा सरसफाई गरिएको पुष्पलाल स्मृति प्रतिष्ठान सर्लाहीका सचिव भरतकुमार कार्कीले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष उद्धव पाठकको अध्यक्षता तथा पार्टीका स्थायी कमिटी सदस्य लक्ष्मण पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, मधेश प्रदेश सभाका सदस्य बेची लुंगेली, निवर्तमान प्रदेश सभा सदस्य डिल्ली उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।