logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दी साझेदारी वनको अध्यक्षमा जसपाकी अन्जुदेवी यादव विजयी


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दी साझेदारी वन उपभोक्ता समितिको अध्यक्षमा जनता समाजवादी पार्टीकी अन्जुदेवी यादव विजयी भएकी छन् ।

बिहान सम्पन्न भएको मतगणनामा प्रतिस्पर्धीलाई १७ मतको झिनो अन्तरले पराजित गर्दै अन्जुदेवी वनको अध्यक्षमा निर्वाचित भएकी हुन् । अन्जुदेवी २३५ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी लालबाबु यादवले २१८ मत मात्रै प्राप्त गरे ।

अध्यक्षमा विजयी यादव कविलासी नगरपालिका १० सलेमपुर निवासी हुन् । जसपाले माओवादी केन्द्र, एमाले, नेकपा एकीकृत समाजवादी, लोसपा, राप्रपा, विप्लवलगायतका दलसँग चुनावी तालमेल गरेको थियो । नेपाली कांग्रेस भने एक्लै थियो ।

यस्तै, उपाध्यक्षमा रामदरेश राय र राजेश यादवले बराबर अर्थात् ५–५ मत ल्याएपछि पुनः मतदानको तयारी गरिएको छ । यस्तै, खुल्ला सदस्यहरुमा रामदरेश राय, माधव सरकार, अवधकिशोर साह, रमेश राय यादव, दयाराम यादव, रामविश्वास यादव र हरेन्द्रकुमार यादव विजयी भएका छन् ।

यसैगरी, मधेशी सदस्यमा जगदेव महतो, दलित सदस्यमा चन्द्रिका विश्वकर्मा, आदिवासीमा मानविर माझी, महिला सदस्यमा रुवी देवी, गीता देवी र पद्मकुमारी ठोकर विजयी भए ।

लालबन्दी साझेदारी वनको नयाँ उपभोक्ता समिति चयन गर्न हिजो हरिपुरमा मतदान भएको थियो । वनको क्षेत्र पर्ने १० वटा पालिकाका ७८ वडाबाट ७ जनाले दरले छानिएर आएका प्रतिनिधिले मतदानमा भाग लिएका थिए ।