प्रतिकात्मक तस्बिर ।
लालबन्दी – सर्लाहीको लालबन्दीमा ज्येष्ठ नागरिक भत्ता लिन बैङ्कमा लाइन बस्न पुगेका एक जना वृद्धको आइतबार मृत्यु भएको छ ।
महालक्ष्मी बैङ्कको लालबन्दी शाखामा आइतबार दिउँसो भत्ता बुझ्नका लागि पुगेका लालबन्दी नगरपालिका–५, रञ्तिजपुर निवासी ७१ वर्षीय भोला वि.क. को मृत्यु भएको हो । दिउँसो अत्यधिक गर्मीका बेला भिडभाडमा लाइनमा उभिएका वि.क. अचानक रगत छादेर ढलेपछि तत्कालै उपचारका लागि नजिकै रहेको गाउँमैत्री अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरे ।
इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक अच्यूत गिरीले प्रारम्भिक अनुसन्धानपछि मृतकको शव परिवारलाई बुझाइएको जानकारी दिए । परिवारका सदस्यले वि.क. लाई केही दिनअघि मात्रै जनकपुरमा उपचार गराएर ल्याएको बताएका र कालगतीले नै मृत्यु भएको स्वीकार गरेकाले पोष्टमार्टमबिनै शव जिम्मा लगाइएको प्रहरी निरीक्षक गिरीले उज्यालो अभियानसँग बताए ।
लालबन्दी नगरपालिका ५ का वडाध्यक्ष मिनप्रसाद ढुङ्गेलका अनुसार वि.क. परिवारको आर्थिक अवस्था कमजोर छ । वडाध्यक्ष ढुङ्गेलले केही दिनदेखि अत्यधिक रुपमा बढेको गर्मी र चर्को घाम खप्न नसकेर वृद्धको मृत्यु भएको अनुमान गरिएको बताए ।
लालबन्दीमा बैङ्कमार्फत भत्ता वितरण हुँदा नगरपालिकाले प्रभावकारी समन्वय नगर्दा वृद्धवृद्धाले घण्टौँ लाइनमा बस्नुपर्नेलगायतको समस्या झेल्नु परेको गुनासो बारम्बार आउने गरेको छ । भत्ता बुझ्न भन्दै बजारमा रहेका बैङ्कमा बिहान सबेरैदेखि आएर वृद्धवृद्धा लाइनमा बस्ने गरेका छन् ।
वृद्धवृद्धाले बैङ्कमा लाइन नबसी सहज रुपमा भत्ता उपलब्ध गराइदिन माग गरे पनि नगरपालिकाले कुनै सुनुवाई गरेको छैन् ।