हरिपुर – सर्लाहीको हरिपुरमा शुक्रबार स्थानीय तहमा न्यायिक समितिको काम, कर्तव्य र अधिकार क्षेत्र विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) ले हरिपुरको न्यायिक समितिका पदाधिकारी, वडाध्यक्ष, मेलमिलापकर्तालगायतलाई न्यायिक समितिबारे अनुशिक्षण प्रदान गरेको हो । सहभागीलाई जिल्ला सरकारी वकील कार्यालय सर्लाहीका जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले न्यायिक समितिको काम, कर्तव्य र अधिकारबारे प्रष्ट पारे ।
उनले पालिका उपप्रमुखको संयोजकत्वमा रहने न्यायिक समितिले हेर्न मिल्ने र मेलमिलाप गराउन मिल्ने विषयमा प्रष्ट पार्दै फौजदारी प्रकृतिका घटनामा कुनै छलफल नगराई सोझै अदालतमा पठाउन आग्रह गरेका छन् । साप–नेपालका प्रादेशिक संयोजक जनक कार्कीले न्यायिक समितिको कामबारे जिम्मेवार जनप्रतिनिधि स्पष्ट हुन भन्ने उद्देश्यले अनुशिक्षण प्रदान गरिएको बताए ।
हििरपुर नगरपालिका २ का वडाध्यक्ष निलबिक्रम थापाको अध्यक्षता तथा उपमेयर निलम देवी यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो । उपमेयर यादवले न्यायिक समितिमा साँध सिमनाको किचलो, घरायसी झै–झगडा, बाटोलगायतको उजुरी धेरै आउने गरेको र दुवै पक्षलाई राखेर मिलमिलाप गराउँदै अगाडि बढेको बताए ।
हरिपुर १ का वडाध्यक्ष नानिबाबु थापा र २ का वडाध्यक्ष निलबिक्रम थापाले साप–नेपालले आयोजना गरेको यस्तो कार्यक्रम प्रत्येक वडा तथा टोल स्तरमा आयोजना गर्न सके न्यायिक समितिले गर्ने कामबारे सबैजना प्रष्ट हुने विचार राखे । हरिपुर ८ जुटपानीकी सन्तरादेवि पासवानले दुःखी, पीडितले स्थानीय स्तरमै न्यायिक समितिबाट न्याय पाउने भनिए पनि मुसहर, पासवानलगायत दलित समुदायको न्यायिक समितिसम्म पहुँच पुग्नै नसकेको गुनासो गरिन् ।